भाषाको विकासलाई मानव सभ्यताको
एक महत्वपुर्ण कडीका रुपमा लिन सकिन्छ । भाषा कुनै पनि परिस्थिति, घटना, वस्तु, भावना, विचार आदिलाई संकेतका रुपमा व्यक्त गरिने माध्यम हो । भाषाहरु कुनै पनि
समकालिन समाजको प्रतिनिधित्व गर्ने विम्व पनि हुन् । यो समय र स्थानको परिवर्तनले
परिमार्जन हुँदै जाने स्वचालित प्रक्रिया पनि हो । सूचनाको हिसाबमा भाषा यथार्थलाई
चित्रण गर्ने माध्यम हो भन्न सकिन्छ । तर भाषा ती यथार्थको प्रतिनिधि मात्रै हो
स्वयम यथार्थ भने होइन । तसर्थ कुनै पनि भाषामा प्रयोग हुने शब्द, वाक्य तथा विम्वहरुको अर्थमा हुने सीमितताका आधारमा यिनीहरुले सम्प्रेषण
गर्ने रुपान्तरित भाव यथार्थताको हुबहु प्रतिबिम्ब नहुन सक्छन् । यस हिसाबमा भाषा
र यथार्थताको बीचमा एक किसिमको पर्दा स्थापित हुन्छ जुन विषयको गहनताको आधारमा एक
अर्कामा हाबी हुन्छन् ।
प्राचीनकालदेखि नै भाषाको
परिमार्जन समकिलन समाजमा स्वीकार्य हुने हिसाबले हुँदै आएको छ । नेपालको वर्तमान
सन्दर्भमा हेर्दा विभिन्न वर्ग,
सम्प्रदाय तथा जातजातिहरुलाई प्रतिनिधित्व गर्ने शब्दहरु परिष्कृत
हुनैपर्छ अनि मात्र सभ्य र समतामूलक समाजको परिकल्पना गर्न सकिन्छ भन्ने केहि
समूहहरु पनि छन् । यस्ता परिष्कृत शब्दहरु (Euphemism) ले
पिछडिएका तथा भेदभावपूर्ण समाजले जबरजस्ती भिराइदिएको वर्ग बिशेषका मानिसहरुको
भावनाको सम्मान गर्ने उनीहरुको तर्क छ । उदाहरणका लागि महिलाहरुलाई सम्बोधन गरिने ‘आइमाई’ शब्द प्रयोगबाट हटाइनुपर्ने
विषयमा बेलाबेलामा बहस पनि हुँदै आएको छ । यस्ता कयौँ उदाहरण जातीय तथा
साम्प्रदायिक उत्पीडनमा परेका वर्गहरुमा भेट्न सकिन्छ ।
समाजमा व्याप्त असमानता
समस्या हुन् र यसको समाधान गरिनुपर्छ तर समस्याको समाधानपूर्व यसका कारणहरु
खोतलिनु आवश्यक छ । यसको पछाडि इतिहासमा रहेका व्यक्तिहरु, शक्तिको बाहुल्यता, तत्कालिन सामाजिक परिवेश, धर्म, विश्वास तथा कुरीतिहरु हुन
सक्छन् । तिनै कारकतत्वहरुबाट प्रश्रय पाएको सामाजिक असमानताले कालान्तरमा
सम्प्रेषण गर्ने अर्थहरुका कारणबाट शब्दहरु कलंकित भएका छन् । तसर्थ कुनै शब्द विशेष
भन्दा पनि ती शब्दहरुले बहन गर्ने अर्थ परिमार्जन गरिनु महत्वपूर्ण हुन आउँछ ।
नयाँ/परिमार्जित शब्दहरुको प्रयोग सँगसँगै व्याप्त असमानताले पनि निरन्तरताले पाउने हो भने
कालान्तरमा ती शब्दहरु पनि कलंकित नहोलान् र अन्ततः हामी नयाँ शब्द
खोज्ने क्रममा शब्दविहिन नै हुन सक्ने स्थितिमा नआइपुगौंला भन्न सकिन्न ।
शब्दहरुले मानव संवेदना तथा भावनासँग सीधा संबन्ध राख्ने हुँदा कुनै वर्ग विशेषलाई
अपमानजनक हुने गरि शब्दहरु प्रयोगमा आउनु पक्कै पनि राम्रो होइन । तर यी शब्दहरुको
पृष्ठभूमि केलाउने हो भने यहाँ स्पष्ट रुपमा कम्तिमा पनि दुई समूह भेट्न सकिन्छ ।
एक समूहमा यस्ता शब्दहरुको प्रयोगले अपमानजनक स्थिति सिर्जना गर्छन् भने अर्को
समूहमा यस्ता शब्दहरु सहज रुपमा प्रयोग हुँदै आएका छन् । उदाहरणका लागि ‘भैया’ शब्द तराईमा सहज अर्थमा
बोलिन्छ भने त्यही शब्द पहाड तथा उपत्यकामा अपमानजनक हिसाबमा हेरिन्छ । त्यस्तै
सहरमा बस्ने पढेलेखेका, बुद्धिजीवी
तथा महिलावादीहरुमा ‘आइमाई’ शब्द अपमानजनक छ तर गाउँ
तथा पाखाहरुमा त्यही शब्दले प्रतिनिधित्व गरेका विभेद, दमन, उत्पीडन आदिका शिकार भएका
महिलाहरुमा यो साधारण रुपमा प्रयोग हुँदै आइरहेको छ । यसर्थ, असमानताका शिकार भएकाहरुको
मुख्य माग शब्दहरुको फेरबदल भन्दा पनि उनीहरुले यथार्थमा भोग्दै आएका सामाजिक
विसमताको अन्त्य हो । वास्तविक समाजमा व्याप्त भेदभाव र उत्पीडनका समाधान हामी
बोक्रारुपी शब्दमाथिको आक्रमणबाट खोज्दैछौँ जसले हामीलाई कतै पुर्याउँदैन मात्र
यसको चंगुलमा फसाउँछ ।
परिष्कृत शब्दहरुले ‘समाजको वास्तविक चित्र
कस्तो छ’ भन्दा
पनि ‘समाजमा
के स्वीकार्य छ’ भन्ने
तीतो यथार्थ पनि संकेत गर्छन् । तसर्थ भाषाहरुमा हुने यस्ता परिमार्जित शब्दहरु
पर्दामाथि लगाइएका अर्को पर्दा हुन् जसले यथार्थलाई लुकाउँछन् र पीडितवर्गलाई
क्षणिक सहानुभूतिबाहेक दिगो परिवर्तनको सुरुवात गर्दैनन् । यस हिसाबमा यस्ता
परिमार्जित शब्दहरु प्रयोगमा आउनु हाम्रो लागि दु:खको कुरा हुन आउँछ यसर्थ कि कुनै
शब्दहरुलाई निरुत्साहित पार्दैमा सामाजिक असमानता निर्मूल भयो भन्ने भ्रममा हामी
पर्छौं न कि यसभित्र लुकेको गम्भीर भेदभावका कारणहरुलाई खोतल्छौँ । यस अर्थमा हामी
देखावटी, ढोँगी
अनि सतही सोचबाट पीडित हुँदैछौँ । चलनचल्तीमा रहेका शब्दहरुलाई उपयुक्त ढंगले
प्रयोग गर्न नसक्नु र परिवर्तन र सामाजिक सहिष्णुताको नाममा यथार्थको मुकुन्डो
फेराउनु हाम्रो आवश्यकता कम र विवशता ज्यादा हो ।
अन्ततः यस लेखको आशय कुनै
पनि वर्गविशेषमाथि हुने अपमानजनक शब्दहरुको प्रयोगलाई प्रश्रय दिनुपर्छ भन्ने नभई
यस्ता गहन विषयभित्र लुकेका किस्साहरुलाई केलाएर दिगो परिवर्तनको आधारशिला खडा
गर्नु हो ।