Friday, 26 September 2014

परिष्कृत शब्दहरु : आवश्यकता कि विवशता

भाषाको विकासलाई मानव सभ्यताको एक महत्वपुर्ण कडीका रुपमा लिन सकिन्छ । भाषा कुनै पनि परिस्थिति, घटना, वस्तु, भावना, विचार आदिलाई संकेतका रुपमा व्यक्त गरिने माध्यम हो । भाषाहरु कुनै पनि समकालिन समाजको प्रतिनिधित्व गर्ने विम्व पनि हुन् । यो समय र स्थानको परिवर्तनले परिमार्जन हुँदै जाने स्वचालित प्रक्रिया पनि हो । सूचनाको हिसाबमा भाषा यथार्थलाई चित्रण गर्ने माध्यम हो भन्न सकिन्छ । तर भाषा ती यथार्थको प्रतिनिधि मात्रै हो स्वयम यथार्थ भने होइन । तसर्थ कुनै पनि भाषामा प्रयोग हुने शब्द, वाक्य तथा विम्वहरुको अर्थमा हुने सीमितताका आधारमा यिनीहरुले सम्प्रेषण गर्ने रुपान्तरित भाव यथार्थताको हुबहु प्रतिबिम्ब नहुन सक्छन् । यस हिसाबमा भाषा र यथार्थताको बीचमा एक किसिमको पर्दा स्थापित हुन्छ जुन विषयको गहनताको आधारमा एक अर्कामा हाबी हुन्छन् ।

प्राचीनकालदेखि नै भाषाको परिमार्जन समकिलन समाजमा स्वीकार्य हुने हिसाबले हुँदै आएको छ । नेपालको वर्तमान सन्दर्भमा हेर्दा विभिन्न वर्ग, सम्प्रदाय तथा जातजातिहरुलाई प्रतिनिधित्व गर्ने शब्दहरु परिष्कृत हुनैपर्छ अनि मात्र सभ्य र समतामूलक समाजको परिकल्पना गर्न सकिन्छ भन्ने केहि समूहहरु पनि छन् । यस्ता परिष्कृत शब्दहरु (Euphemism) ले पिछडिएका तथा भेदभावपूर्ण समाजले जबरजस्ती भिराइदिएको वर्ग बिशेषका मानिसहरुको भावनाको सम्मान गर्ने उनीहरुको तर्क छ । उदाहरणका लागि महिलाहरुलाई सम्बोधन गरिने आइमाईशब्द प्रयोगबाट हटाइनुपर्ने विषयमा बेलाबेलामा बहस पनि हुँदै आएको छ । यस्ता कयौँ उदाहरण जातीय तथा साम्प्रदायिक उत्पीडनमा परेका वर्गहरुमा भेट्न सकिन्छ ।

समाजमा व्याप्त असमानता समस्या हुन् र यसको समाधान गरिनुपर्छ तर समस्याको समाधानपूर्व यसका कारणहरु खोतलिनु आवश्यक छ । यसको पछाडि इतिहासमा रहेका व्यक्तिहरु, शक्तिको बाहुल्यता, तत्कालिन सामाजिक परिवेश, धर्म, विश्वास तथा कुरीतिहरु हुन सक्छन् । तिनै कारकतत्वहरुबाट प्रश्रय पाएको सामाजिक असमानताले कालान्तरमा सम्प्रेषण गर्ने अर्थहरुका कारणबाट शब्दहरु कलंकित भएका छन् । तसर्थ कुनै शब्द विशेष भन्दा पनि ती शब्दहरुले बहन गर्ने अर्थ परिमार्जन गरिनु महत्वपूर्ण हुन आउँछ । नयाँ/परिमार्जित शब्दहरुको प्रयोग सँगसँगै व्याप्त असमानताले पनि निरन्तरताले पाउने हो भने कालान्तरमा ती शब्दहरु पनि कलंकित नहोलान् र अन्ततः हामी नयाँ शब्द खोज्ने क्रममा शब्दविहिन नै हुन सक्ने स्थितिमा नआइपुगौंला भन्न सकिन्न । शब्दहरुले मानव संवेदना तथा भावनासँग सीधा संबन्ध राख्ने हुँदा कुनै वर्ग विशेषलाई अपमानजनक हुने गरि शब्दहरु प्रयोगमा आउनु पक्कै पनि राम्रो होइन । तर यी शब्दहरुको पृष्ठभूमि केलाउने हो भने यहाँ स्पष्ट रुपमा कम्तिमा पनि दुई समूह भेट्न सकिन्छ । एक समूहमा यस्ता शब्दहरुको प्रयोगले अपमानजनक स्थिति सिर्जना गर्छन् भने अर्को समूहमा यस्ता शब्दहरु सहज रुपमा प्रयोग हुँदै आएका छन् । उदाहरणका लागि भैयाशब्द तराईमा सहज अर्थमा बोलिन्छ भने त्यही शब्द पहाड तथा उपत्यकामा अपमानजनक हिसाबमा हेरिन्छ । त्यस्तै सहरमा बस्ने पढेलेखेका, बुद्धिजीवी तथा महिलावादीहरुमा आइमाईशब्द अपमानजनक छ तर गाउँ तथा पाखाहरुमा त्यही शब्दले प्रतिनिधित्व गरेका विभेद, दमन, उत्पीडन आदिका शिकार भएका महिलाहरुमा यो साधारण रुपमा प्रयोग हुँदै आइरहेको छ । यसर्थ, असमानताका शिकार भएकाहरुको मुख्य माग शब्दहरुको फेरबदल भन्दा पनि उनीहरुले यथार्थमा भोग्दै आएका सामाजिक विसमताको अन्त्य हो । वास्तविक समाजमा व्याप्त भेदभाव र उत्पीडनका समाधान हामी बोक्रारुपी शब्दमाथिको आक्रमणबाट खोज्दैछौँ जसले हामीलाई कतै पुर्याउँदैन मात्र यसको चंगुलमा फसाउँछ ।

परिष्कृत शब्दहरुले समाजको वास्तविक चित्र कस्तो छभन्दा पनि समाजमा के स्वीकार्य छभन्ने तीतो यथार्थ पनि संकेत गर्छन् । तसर्थ भाषाहरुमा हुने यस्ता परिमार्जित शब्दहरु पर्दामाथि लगाइएका अर्को पर्दा हुन् जसले यथार्थलाई लुकाउँछन् र पीडितवर्गलाई क्षणिक सहानुभूतिबाहेक दिगो परिवर्तनको सुरुवात गर्दैनन् । यस हिसाबमा यस्ता परिमार्जित शब्दहरु प्रयोगमा आउनु हाम्रो लागि दु:खको कुरा हुन आउँछ यसर्थ कि कुनै शब्दहरुलाई निरुत्साहित पार्दैमा सामाजिक असमानता निर्मूल भयो भन्ने भ्रममा हामी पर्छौं न कि यसभित्र लुकेको गम्भीर भेदभावका कारणहरुलाई खोतल्छौँ । यस अर्थमा हामी देखावटी, ढोँगी अनि सतही सोचबाट पीडित हुँदैछौँ । चलनचल्तीमा रहेका शब्दहरुलाई उपयुक्त ढंगले प्रयोग गर्न नसक्नु र परिवर्तन र सामाजिक सहिष्णुताको नाममा यथार्थको मुकुन्डो फेराउनु हाम्रो आवश्यकता कम र विवशता ज्यादा हो 

अन्ततः यस लेखको आशय कुनै पनि वर्गविशेषमाथि हुने अपमानजनक शब्दहरुको प्रयोगलाई प्रश्रय दिनुपर्छ भन्ने नभई यस्ता गहन विषयभित्र लुकेका किस्साहरुलाई केलाएर दिगो परिवर्तनको आधारशिला खडा गर्नु हो ।


0 comments:

Post a Comment